काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी शुक्रबार अर्थात् असोज ९ गतेदेखि आइतबार (असोज ११ गते) सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उक्त आग्रह गरिएको हो।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनअनुसार उत्तर अन्डमान सागर क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षाको जोखिम बढेको हो।
प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरी र चट्याङसहित भारी वर्षा हुनसक्ने जनाइएको छ। प्राधिकरणका अनुसार देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ।
पहिरो, बाढी र डुबानको जोखिम
भारी वर्षाका कारण नदी तथा खोलामा बाढी, पहिरो, गेग्रान बहाव र तराई तथा सहरी क्षेत्रमा डुबानको खतरा रहेकाले प्राधिकरणले पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै असोज ९ देखि ११ गतेसम्म अति जरुरी कामबाहेक रातिको समयमा वा टाढाको यात्रा नगर्न भनिएको छ।
यसैगरी जोखिमयुक्त राजमार्गहरूमा तत्काल पहिरो पन्छाउन डोजर, एक्साभेटरजस्ता उपकरणहरू तयारी अवस्थामा राख्न र सुरक्षा निकायहरूलाई उच्च सतर्क रहन निर्देशन दिइएको छ। खोला, नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दाहरूलाई पूर्वसूचना अनुसार सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।
प्राधिकरणले विपद् तथा मौसमसम्बन्धी जानकारी वा उद्धारका लागि आपत्कालीन सम्पर्क नम्बरहरूसमेत उपलब्ध गराएको छ। जसअनुसार बाढी तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् उद्धार हेल्पलाइन १२३८, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ रहेका छन्।