डोटी- डोटीमा महिनैपिच्छे खानेतेल, तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धि भएपछि विपन्न वर्ग बढी मारमा गरेका हुन् ।
मूल्य वृद्धि सँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खाने तेलसम्म किन्न सकेका छैनन् । यहाँका विपन्न परिवारलाई साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताए ।
उनले भने, ‘मूल्य वृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा पर्यौं ।’ सोनुका अनुसार डोटीका पसलहरूमा खाने तेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ ।
दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य ३६० सम्म पर्ने गरेको उपभोक्ताको गुनासो छ । यसैगरी गेलभेँडाको मूल्य बढेर अहिले १६०,आलु प्रतिकिलो १००, भिन्डी ७०, काउली ९०, रायोको साग मुठाको ५०, लौका र फर्सी प्रतिकेजी ४० देखि ५० पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताए ।
उनका अनुसार तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् । तराईका जिल्लाबाट तरकारी तथा तेल आयात गरिने भएका कारण ती क्षेत्रमा मुल्य वृद्धि भएपछि यहाँ पनि मूल्य वृद्धि भएको दिपायल पिपल्लाकी तरकारी व्यवसायी बब्ली श्रीवास्तवले जानकारी दिए ।
उनले भने, ‘तरकारी, खानेतेल सबै तराईबाट आउँछ, उता भाउ बढेका कारण यहाँ महँगो भएको हो, हामीले आफूखुसी मूल्य बढाएका छैनौं ।’
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १३:०८