धनुषा - जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ असोज १ गते साँझ करिब ६ः३० बजे जनकपुरधाम उपमहानगरपालिका–१० स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा बर्थिङका लागि आएकी महिलाका आफन्तहरूले कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना प्राप्त भएको थियो।
सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीय सुषिला मुखियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई २०८३ असोज २ गते धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३(ग) बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उक्त कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।