सिन्धुपाल्चोक- अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–२ घट्टेखोलाको भीषण बाढीले तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त भएको छ ।
नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी लोकमार्गको विभिन्न खण्डमा सडक माथिबाट आएको बाढी र भेलले उक्त सडक क्षतिग्रस्त भएको छ ।
भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष कुमार श्रेष्ठले सडकमाथिको मेराक भन्ने स्थानबाट आएको बाढीले सडक बगाएपछि यातायातका साधान पूर्णरुपमा रोकिएको जानकारी दिए । सडक बगाएपछि पैदल यात्रा समेत पूर्णरुपमा रोकिएको छ ।
बिरामी, सुत्केरीलाई अस्पताल पुर्याउन समस्या भएको छ । सडक खुलाउन सडक डिभिजन कार्यालयले वास्ता नगरेकोले वडा कार्यालय र पालिकाको प्रयासमा खुलाउने कार्य गरिने उहाँले जानकारी दिए ।
सडक अवरुद्ध हुदाँ बाह्रबिसे र तातोपानी सडक सम्बन्ध टुटेको छ । क्षतिग्रस्त सडक खुलाउन बारे सडक डिभिजन कार्यालय चरिकोटले कुनै पनि जानकारी दिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १२:२९