जुम्ला- जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । विहीबार करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको जनाइएका हाे ।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टले बताएका छन् ।
विद्युत्गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताए । बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भासिएको देखेका थिए ।
मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकाे जनाइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १२:२७