काठमाडौं- हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।
लिखित तथा मौखिकरूपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए ।
यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्विकर वक्यौता तर्फका ६ वटा व्यावसायिक फर्म रहेको उनले बताए । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ ।
यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व संकलन भएको कार्यालयले जनाएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा ५ अर्ब ७० करोड ८ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ अर्ब ४ करोड ७८ लाख राजस्व संकलन भएको छ ।
अर्थात तोकिएको भन्दा १ सय ६ प्रतिशत अत्यधिक राजस्व संकलन सो कार्यालयले गरेको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ १ अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ २ करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ ५ करोड ६ लाख ४२ हजार, मूल्यअभिवृद्वि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार, अन्तशुल्क करतर्फ ३ अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ ६१ करोड ४३ लाख १० हजार राजस्व संकलन भएको जनाइएको छ ।
उक्त अवधिमा कार्यालयको आयखकरतर्फ १ अर्ब १२ करोड ९४ लाख ११ हजार,घरबहाल करतर्फ ३ करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ ६ करोड ४० लाख, मूल्यअभिवृद्वि करतर्फ १ अर्ब ३३ करोड ४२ लाख, अन्तशुल्क करतर्फ २ अर्ब ९८ करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १६:४८