काठमाडौं - वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ ।
६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५.५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो ।
हेटौंडाको राप्ती नदीमा हेटौंडा ११ र १२ नम्बर वडा जोड्ने पुल समयभन्दा तीन महिना अगाडि नै निर्मण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त पुल २७ करोड ४६ लाख २० अजार २३३ रूपैयाँको लागतमा सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी मकवानपुरकै भीमफेदी कुलेखानी १५.५ किलोमिटर सडक खण्ड पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त सडक खण्डको लागत रकम ३५ करोड ३० लाख ६१ हजार ७८७ रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।
निर्देशनालयले ४ वटा झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न गरेको छ । नुवाकोटको बेसीकठेरीमा तादी पाँच र पञ्चकन्या दुई जोड्ने झोलुङगे पुलको लागत १ करोड ५० लाख ७७ हजार ५८२ रहेको प्रवक्ता ओझाले बताए ।
यस्तै नुवाकोटकै टुप्तेश्वर ३ र ४ जोड्ने बिमिरे माझगाऊँ झोलुङ्गे पुल ६४ लाख ८३ हजार १९० मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उनले बताए । मकवानपुरको भीमफेदी ८ ईपा खोलामा ७६ लाख ३५ हजार ३११ को लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ मा ५५ लाख २४ हजार ४४३ को लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आएको प्रवक्ता ओझाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १४:२५