ताप्लेजुङ- खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्ने, मेसिनले नै धानको बीउ रोप्ने गर्न थालेको छ । ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरूको प्रयोग गर्नु पर्दछ ।
पहाडी क्षेत्रमा भिरालो जमिन, थुम्का–थुम्की ससानो डिलहरू त्यसमा पनि चट्टान, माटो र चट्टान बराबर हुने भएकाले पहाडी क्षेत्रका कृषकले कृषिका लागि अविष्कार भएका मेसिन प्रयोग गर्न सकेका छैनन् ।
विभिन्न प्रविधिको प्रयोग हुन नसक्नुले पनि पहाडी क्षेत्रमा खेतबारी बाँझिदै गएको कृषि विज्ञ भिङमारे हेल्लोकले बताए । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन ।
धानलाई मुख्यबाली मानिए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन् ।
युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेश र सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमीन बाँझो हुँदै गएको छ ।
पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन् । सरकारले कृषिमा यान्त्रिकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याए पनि पहाडी क्षेत्रका किसान यान्त्रिकीकरणको प्रयोगबाट वञ्चित रहेको कृषि विज्ञ हेल्लोकले बताए ।
धान रोप्न छोडेर किसान फलफूल खेती, अलैँची खेती जस्ता वैकल्पिक खेती गर्न बाध्य छन् । विगतमा गाउँघरमा पर्मा खेल्ने प्रचलन थियो । एक दिन एक परिवारको रोपाइँ र अर्को दिन अर्को परिवारको रोपाइँ गर्ने त्यसरी नै खेतीपाती गर्ने चलन थियो ।
तर आजभोलि गाउँघरमा पर्मा खेल्ने चलन हराउँदै गएको सिदिङवा गाउँपालिका-४ का अनिता लिम्बूले बताए । उनले भने, ‘खेताला पाउनै छोडेको छ ।’ खेतालाको ज्यालादर प्रत्येक वर्ष बढ्दै गएको छ ।
एउटा खेतालालाई ५०० ज्याला र एक हल गोरुको १ हजार ज्याला पुगेको सिरिजङ्घा गाउँपालिका-१ आम्वेगुदिनका वडाध्यक्ष असिम कुवँरले बताए । ज्याला बढ्दै गए पनि उत्पादन भने घट्दै गएकाले अन्न बाली छोडेर नगदेबालीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ।
कृषि व्यवसाय सीमितले मात्र अंगाल्ने गरेको विज्ञ हेल्लोकको भनाइ छ । कृषकलाई अनुदान र प्रविधिक सहयोग सहुलियत व्याज दरमा ऋणको सहजीकरण हुन सके उर्वर जमिन बाँझो रहने समसइा हट्ने कृषक बताउँछन् ।
गाउँमै कृषि कर्म गर्न प्रोत्साहन गर्न सके जमिन बाँझो हुनबाट जोगिने फक्ताङलुङ गाउँपालिका-४ का विक्रम माबोहाङले बताए । यसवर्ष ताप्लेजुङको ९ स्थानीय तहमा धानखेतीयोग्य ८ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो ।
उक्त खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले बताए । गत वर्ष ८ हजार ३०० हेक्टरमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन धान उत्पादन भएको थियो।
२०७५ मा ताप्लेजुङमा ८ हजार ५६२ हेक्टरमा धानखेती गरिएको थियो । सो खेतीबाट १८ हजार १५१ मेट्रिकटन धान उत्पादन भएको थियो । २०७६ मा ८ अजार ३८.०४ हेक्टरमा धानखेती गरिएकामा २० हजार ७६.९७ मेट्रिकटन धान उत्पादन भएको थियो ।
२०७७ मा ८ हजार ३००.१५ हेक्टरमा धानखेती गरिएकामा २१ हजार ८२.३८ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ ११:४४