हुम्ला - हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट-१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीहरूले कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको बताएका हुन् ।
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई २ हजार भत्ता उपलब्ध गराउँदै आएको छ । सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाले सुत्केरीको संख्या बढी र प्रदेशले छुट्याएको रकम कम भएका कारण उनीहरूले भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको उक्त भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरूले गुनासो गरेका हुन् ।
स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको ३ हजार संघ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाएको बताइन् ।
यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफैं अन्यौलमा परेका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढी भएका कारण प्रदेश सरकारले छुट्याएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।
उक्त भत्ताका लागि यही असार २० गते ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उनको भनाइ छ । तर उनले प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको जानकारी दिए ।
जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा १ लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा ३ लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थयकर्मीहरूले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १३:३८