
‘मैले जानेको /बुझेको क्षेत्र यहि हो । योभन्दा बाहिर गए भने– म लँगडो बन्छु । त्यसकारण यो क्षेत्रभन्दा बाहिर गएर म कुनै काम गर्न सक्दिन।’ चार दिनअघि मात्र ककनीबाट एक सय ४५ जना विद्यार्थीहरूलाई फिल्ड प्रशिक्षणबाट लिएर फर्किएका हुन्, छिरिङ जाङ्बु शेर्पा । यो भन्दा अघिल्लोपटक ८३ जना र पछाडि ५३ जना विद्यार्थीहरूलाई ‘फिल्ड’ प्रशिक्षणपश्चात् साथमा लिएर राजधानी फर्किएका उनी दुई दशकदेखि पर्वतारोहण क्षेत्रमा संलग्न छन् । ८ अगस्ट १९७७ मा सोलुखुम्बुको लोखिम–९ रक्सिखर्क गाउँमा जन्मिएका छिरिङ जाङ्बुको जीवन यात्रा नदीजस्तै अविरल बगिरहेको छ । उनी एक विशुद्ध समाजसेवीका रूपमा परिचित छन् । उनकै पहलमा थुप्रै भेगमा विद्यालय पनि स्थापना भएका छन् । सोलुखुम्बुको लामु डाँडा स्कुलमा पाँच कक्षासम्म अध्ययन गरे उनले । यात्रा न हो हिँड्दै जाँदा ठेस लागिहाल्ने, ११ वर्षको कलिलो उमेरमै उनले गाउ छाडे । बने परदेशी । दुःखको पहाडले थिचिनु नै समाजमा गरिबीको परिचय हो । उनलाई पनि त्यो दुःखले कहा छाड्यो र † अध्ययनमा ब्रेक लाग्यो । परदेशी बनेर हिँडेका उनले खोटाङको एैसेलुखर्कबाट चामल, नुन किनेर लुक्ला बेच्न जान्थे । त्यसरी नै जीविकोपार्जन चल्थ्यो ।


समय एकनासको कहाँ हुन्छ ? संघर्षको कारखानाबाट खारिन कति गाह्रो छ भन्ने हेक्का अन्धाकारमा पनि उज्यालो चमक दिन त्यो बहुमूल्य रत्न हिरालाई सोध्नुपर्छ । हो, उनी पनि संघर्षको कारखानामा खारिएको हिरा बने । भरिया (पोर्टर) देखि प्रशिक्षकसम्म । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल माउन्टेन एकेडेमी (नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान) मा कुशल प्रशिक्षकका रूपमा परिचित छन् । माउन्टेनियरिङमा डिप्लोमा गरेका उनी एकेडेमीमा साहसी खेल स्की विभागका सम्पूर्ण जिम्मेवारी हेर्छन् । नेपालमा उनकै पहलमा पहिलोचोटी स्की खेल भित्रिएका हो, सन् २०१५ मा । जतिबेला उनी एकेडेमीमा प्रशिक्षकको रूपमा भर्ना भएका थिए । त्यपछि हालसम्म उनी एकेडेमीमा विभागको प्राविधिक पाटोका सबै जिम्मेवारी सम्हाल्दै आएका छन् भने गाइडको काम त छँदै नै छ ।
सन् २००० मा राजधानी छिरे । जागिरको मौका मिल्यो, थामसेर्कु ट्रेकिङ कम्पनीमा । त्यहा उनले पर्खाल चढ्ने ‘क्लाइमिङ वाल’ सम्बन्धिका कामहरू हेर्नुपथ्र्यौ । थामसेर्कु नेपालकै पहिलो वाल क्लाइमिङ सेन्टर पनि हो । इरानियन माउन्टेनियरिङ फेडेरेसनको सहयोगमा निर्माण गरिएको उक्त क्लाइमिङ वालमा कार्यरत छँदै आफैँले तालिम पनि लिन थाले । करिब पाँच वर्ष त्यहि काम गर्दै र तालिम लिएपछि उनले दुई वर्षसम्म प्रशिक्षकको भूमिका निर्वाह गरे । तर, अझ आफूमा धेरै चिजको कमी देखे र फेरी पर्वतारोहणसम्बन्धि ‘माउन्टेनियरिङ’ थप तालिम र अध्ययनमा लागे । चार वर्षअघि माउन्टेनियरिङमा डिप्लोमा गरेका उनी भन्छन,‘पूर्णता भन्ने कुरा कहिल्यै नपाइनेरहेछ । केवल नयाँ अनुवभहरूसँगै खारिइनेमात्र रहेछ । अहिले विद्यार्थीहरूलाई पढाउदै र आफू पनि पढ्दै छु।’
त्यो कुकको लात

संघर्षको मैदानमा यात्रु बनेर हिँड्दा अनेक बाधा अड्चन आउँछन् । सिकाइबाट जत्ति फाइदा छ त्यो भन्दा असोचनिय घृणा र तिरस्कार ! उनी पनि यहि रोगबाट ग्रसित बने । प्रसंग हो, जब उनी पहिलोचोटी दुई जना फ्रेन्च विदेशीको ‘कुक’ भरिया बनेर लुक्लाबाट उकालो लाग्दै थिए । बीच बाटोमा घटेको घट्ना हो योचाहि“ । उनीसँगै थिए अफिसको डाइरेक्टर पनि । घट्ना के भइदियो भने–कुकले एक्कासी एक लात र दुई झापट हान्यो । छिरिङ अझै पनि त्यो क्षण सम्झेर हाँस्छन् अनि सोचमग्न हुन्छन्,‘साँच्चिकै म कति अबुझ रहेछु त्यो बेला । लाटा नै पो रहेछु त ! कुकले लात हान्दा उनले रिस फर्काएनन् बरु थकथकाए । कुकसम्बन्धि नबुझ्दा कुकको एक लात दुई झापट खाएपछि उनको सोचे कि– म कति अबुझ रहेछु । त्यो घटनाले उनलाई चेतना दिलायो । त्यो घटना एउटा फिल्मजस्तै भइदियो– लुक्लाबाट नाम्चे नपुग्दै उनले किचन र कुकसम्बन्धिका सामान्य जानकारी र भाडाकु डाको नाम कण्ठस्थ बनाए ।
सगरमाथा
कस्लाई सगरमाथा चढ्न मन हुदैन ? उनको पनि त्यहिँ हुटहुटी थियो सगरमाथा चढ्ने । त्यसो त शेर्पा जाति भनेपछि हिमालसँग त स्वभावैले अन्योन्याश्रित मानिन्छ । हिमालको काखमुनि लडिबुडी गर्दै हुर्केका उनले सन् २००६ मा पहिलोचोटी सगरमाथा आरोहण गरे । २००३ बाट ८ हजार मिटर उचाइमा रहेका चुचुराहरू टेक्न थालेका उनले त्यसअघि ८ हजारमुनिका हिमटाकुराहरू कति चढे उनी गन्ति गर्न अलमलिन्छन् । उनी भन्छन्, ‘हालसम्म आठ हजार मिटरका १४ वटा हिमालहरू चढ्न सफल भएको छु । सगरमाथा चार पटक, ल्होत्से चार पटक । मकालु एक पटक । छोयु दुई पटक । सिसाबङ्ला दुई पटक ।’ अटम र स्प्रिङ सिजन मुख्य सिजन, हो हिमाल चढ्ने । स्प्रिङ सिजनमा पर्यटकहरूको ‘टार्गेट’ नै सगरमाथा आरोहण गर्ने हुन्छ । अटम सिजनमाचाहिँ सगरमाथालगायत अन्य हिमालहरू चढिन्छन् । सन् २००६ मा पहिलोचोटी चीनबाट सगरमाथा चढेका उनले आठ हजार पाँच सय १५ मिटर उचाइको पहिलो हिमाल ल्होत्से चढे । हो, त्यहि अनुभवले उनलाई सगरमाथा चढ्ने आत्मबल बढायो । आठ हजार उचाइको हिमाल चढ्दाको अनुभव उनी यसरी सुनाउँछन्– सुरुमा आठ हजार मिटर उचाईमा रहेको चुचुरो टेक्दा संसार नै जितेजस्तो अनुभव भएको थियो ।
विषयगत ज्ञान
नेपाललाई पर्यटन क्षेत्रमा ब्याक बोनका रूपमा मानिन्छ । यद्यपि, पर्यटनसम्बन्धि हामी सबै नागरिकले बुझ्न जरुरी छ । अझ भन्नुपर्दा सरकारले प्राथमिक तहदेखि नै पाठ्यक्रममै यससम्बन्धि विषयवस्तुहरू राखिदिएको भए यो क्षेत्रले ब्यापकता पाउँथ्यो । पढाउने स्टाइल आफ्नै हुन्छ । तर, उनी विद्यार्थीको समस्या कहाँनिर छ त? त्यहिँ समस्या केलाएर विद्यार्थीलाई सिकाउछन् । उनका अनुसार एकेडेममीमा वा कुनै कम्पनीबाट सञ्चालन क्लाइम्बिङ भवनमा गएर सिक्नु भनेको ‘डम्मी’ सिकाइ हो । यस्ले विद्यार्थीमा एउटा चेतना त विस्तार गराउ“छ नै तर यो केवल कक्षागत मात्र हो । प्रशिक्षकले विद्यार्थीहरूलाई पढाएर र फिल्डमै लगेर सिकाएर, गराएर देखाइदिनुपर्छ । फिल्डमा विद्यार्थीले सिकेपछि आफै“ले सबै समस्याहरूको हल गर्न सक्ने हुनुपर्छ । यहिँ प्राक्टिल सिकाइले विद्यार्थी खारिने हो । यस वर्षको पुष नलाग्दासम्ममा १४०० सय जनालाई प्रशिक्षण दिइसकेका छन् उनले, नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्गत रहेको नेपाल माउन्टेन एकेडेमीमा । एकेडेमीका प्रशिक्षक उनी विद्यार्थीहरूलाई शत प्रतिशत विषयगत ज्ञान/दिन सिकाउन सफल छन् । उनको अध्ययन सिकाइ देखेर विद्यार्थीहरू अत्यन्तै प्रफुल्लित हुने गर्दछन् जब कि उनको सिकाई शैली नै दमदार छ ।
स्कीका पिता
आज नेपालमा स्की खेल भनेपछि युवापुस्ता हुरुक्कै हुन्छन्, जबकि हिउँमा खेल्नुको मज्जा नै छुट्टै ! स्की खेल आफैँमा चुनौतीपूर्ण खेल हो । खेल खेल्न जाने साहसीक नत्र जोखिम । सन् २०१५ स्की खेल नेपालमा खेल्न थालियो । जस्को जन्मदाता, पिता भनौ“ सुरुवात छिरिङले नै गरेका थिए । आज स्की खेललाई मूर्त रूप उनले नदिएका भए स्की खेल अधुरो र अपुरो हुने थियो । स्की खेल नेपालमा भित्राउने सम्पूर्ण प्राविधिक चाँजोपाँचजो उनैले मिलाए । एकेडेमीमा प्रशिक्षकका रूपमा प्रवेश गरेका छिरिङ हाल स्की विभागको सबै जिम्मेवारी सम्हालीरहेका छन् । उनी भन्छन्, ‘अब केही समयपछि युरोपबाट स्की खेलका लागि दुई हजार चार सय टन सामाग्री आउ“दै छन् । युरोपबाट स्की खेलका ती सामाग्रीहरू आइनपुग्दै महिनैअघि खप्तड, मुस्ताङ, मुक्तिनाथ, कालिन्चोक, शैलुङमा स्की खेल खेलेर यसको प्रचार गरिसकिएको छ ।उनी यसअघि भन्छन्, ‘शैलुङमा त एक वर्ष प्रशिक्षक नै सञ्चालन भयो । गत वर्षमा कालिन्चोक १९ जना विद्यार्थीहरू लिएर तालिम दिइयो । अब, त्यहिँ १९ जनालाई लिएर केही समयको अन्तरालमा युरोप लिए जाँदैछु । फ्रान्स र स्वीसमा दुई हप्तासम्म तालिम सञ्चालन हुँदै छ ।’
अनुभव
सगरमाथा चढ्नु र ओर्लिनुमा दिन र रातझैँ फरकपन छ । चढ्न जति सजिलो छ ओर्लिन त्यति सजिलो कहाँ छ ? यद्यपि, सगरमाथा आरोहीहरूको सोच त्यहिँ हुन्छ– चढेर सगरमाथाको चुचुरामा पाइला टेक्छु । तर, चुचुरोमा पाइला टेकेर यसरी ओर्लिन्छु भन्ने प्राय कसैको ध्यान नै हुँदैन । छिरिङ पहिलोचोटी सगरमागा आरोहीको ध्यान यहिँ हुने आफ्नो पनि अुनुवभ सेयर गर्दै भन्छन्, ‘हालसम्म सगरमाथा वा अन्य हिमालमा घटेका जतिपनि दुःखद खबर छन् ती सबै ओर्लिने क्रममै भएका छन् । हिमाल चढ्ने शिलशिलामा हिउँ पहिरो खसेपछिको आइपर्ने विपत्ति छुट्टै हो । तर, सबैभन्दा कठीन भन्नु सगरमाथा चढ्नु होइन त्यहाँ बाट झर्नु हो ।’ यद्यपि, सगरमाथामा अर्काे समस्या–समिट फिबर हो । समिट फिबर मतलब चढ्नेमात्र ध्यान हुनु तर, कसरी झर्ने विषयमा कुनै योजना नै नबनाउनु । जुन रोगबाट उनी पनि पीडित बने ।
नबिर्सिने त्यो क्षण
सगरमाथाको क्याम्प–३ मा थिए उनी । एक्कासी पहिरो आयो । पहिरोले आफूसहितका सबै साथीहरूलाई बगाउन लाग्यो । प्रकृतिसँग कसैको केही नलाग्ने । जिन्दगी अन्तिम घडीमा । उनले पनि साथीलाई काखमा समाएर ‘भाग भाग’ भन्दै कुदे । सुतिरहेको साथीलाई समाउँदै अघि बढ्ने क्रममा उनी ढोकामा बजारिए । सगरमाथामा घटेको घट्नाले नछाडेको धङधङी । जतिबेला उनी धादिङबेसीमा कम्पनीको सरसँग सुतिरहेका थिए । रातको १२ बजे । जतिबेलला जन्तिहरू पनि आइरहेका थिए ।
छिरिङसँग हिमाल चढ्दाका बिर्सन नसकिने क्षणहरू अविरल वर्षाझैँ छन् । उनी त्यो क्षण सम्झिन्छन्–जुन घटनाले सपनामै ओछ्यानमा निदाएका साथीलाई बोकेर कुदेका छन् । त्यो माथिको घटना हो सन् २००८ को । त्यतिबेला हिमाल चढ्नेक्रममा उनको तीनवटा छातीको करङ भाच्चियो । यस विषयमा त एउटा लामो लेख नै छापिएको छ । जुन उनले कोठामा जतनका साथ राखेका छन् । घरी घरी सम्झिएर तरक्क आँशु झार्छन् । हिउ पहिरोले दुई सय मिटर तल लैँजादा उनीसँगै बगेका पाँच जना साथीहरूको कसैको टाउँको काटिएको, कसैको शरिबाट रगत बगेर आहालझैँ भएको दृश्यले उनलाई अझैँ पनि त्यो दिनको झझल्को दिन्छ । तर, दैवको साथ भनौँ सबैजनाको उद्धार भयो । हिउँपहिरोले बगाउँदै गर्दा हाफालेर पौँडिदै निस्कन खोज्दा छाँतीमा झुण्डिएको क्यामेरा भुईमा बज्रन पुग्यो र उनको सग्लो करङ टुक्रियो । बाँकी चार जना साथीहरू हिउँ पहिरोमा परेर अशक्त बन्नु पर्यो । यो घटनाले उनलाई चार वर्षसम्म पिरोल्यो ।
मोहनी
उनको शब्दमा सगरमाथा चढ्नु भनेको सुन्दरी युवती/युवकको मोहमा कुनै युवती/यवक फसेजस्तो हुनु हो । एकपटक चुचुरो चढेपछि अर्काेपटक पनि ‘मलाई भेट्न आऊ ल’ भन्दै आँखा झिम्काएजस्तो मोहनी लाग्ने । त्यहिँ मोहनीले उनी चुचुरोमा चढिरहन चाहन्छन् । तर, चढेपछि फेरी ओर्लिनु त छँदैछ । त्यसो त उनी ‘मोहनीवाली’ सगरमाथाको चुचुरोमा एक्लै जाँदैनन्, आफूँसँगै साथमा कम्तिमा दुई जनादेखि नौ“ जनासम्म लिएर पुग्छन् । उनीसँगै त्यतिका धेरै साथीहरू देखेर सगरमाथा छन्, फुरुङ्ग हुन्छे र फेरी अर्काेचोटीको लागि निम्तो दिन्छे ।
स्की अनि स्वीस साथी
स्वीस साथीको साथ नपाएको भए उनले नेपालमा स्की खेलको अवधारण ल्याउन कठीन हुन्थ्यो । तर, साथमा स्वीस साथीको साथले उनले स्की खेललाई औँपचारिक रूपमा भित्राए । त्यतिबेला नेपाल सरकारले पर्यटन क्षेत्रको साहसिक क्षेत्रमा एउटा तालिम दिने योजना अघि बढायो । जतिबेला उनी एउटा तालिमकर्ता थिए । साहसिक खेलका लागि भनेर सरकारले दश लाख बजेट पनि विनियोजन गर्यो । यद्यपि, बजेट छुट्टियो तर, बजेट परिचालनका लागि त्यस्तो पायक पर्ने क्षेत्र र योजना फुरेन । सन् २०१४ को कुरा हो यो । त्यतिबेला उनी पेम्बा ग्याल्जेन सरसहित सहपाठीहरूसँग फिल्ड ट्रेनिङमा जाँदै थिए । त्यतिबेलै पेम्बा सरले उनलाई योबारे जानकारी गराए । र, उनले मनमनै स्की खेलको नयाँ सोच अघि बढाए । सोचे, ‘विन्टर सिजनमा हिमाली भेगका मानिसहरू ढोका थुनेर बस्छन् कि त ओरालो (पहाडतिर) झर्छन् । तर, अब त्यसो हुन दिनुहुँदैन सदाबहार त्यहाँको ढोका खुल्ला रहनुपर्छ ।’ र मनमनै स्की खेल नेपालमा सञ्चालन भएको सपना देखे । त्यसपछि उनले जिनियस् मित्र स्वीस साथीसँग यस विषयमा कयौँ दिन गफ गरे । छिरिङले स्वीस मित्रसँग यस विषयमा अनभिज्ञता राखे । स्वीसहरू जन्मिने बित्तिकै हिँउमा चिप्लिन्छन् । र, हिउँसँग सम्बन्ध अन्योन्याश्रित हुन्छ । र, अन्ततः नेपालमा स्की खेल सञ्चालन गर्न सकिने निष्कर्ष निस्कियो । र, स्वीस साथीले पजि नेपाल सरकारसँग दश वर्षसम्मका लागि स्की खेल प्रशिक्षण दिने सम्झौँता पाए । र, एकेडेमीमा स्की विभागको सम्पूर्ण जिम्मेवारी छिरिङले पाए । अहिले उनी स्की विभागको रथ हाँकिरहेका छन् । कुराकानीको अन्तमा उनी नेपालमा पहिलोपटक ‘एड्भेन्चर टुरिज्म स्टडीज’ पढाई हुन लागेकोमा औधी खुसी प्रकट गर्छन् ।
प्रस्तुतिः लोकराज रुम्दाली