काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसनका संस्थापक स्व हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको 'हेमबहादुर मल्ल सम्मान २०८०' पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घ र कर्पोरेसनले संयुक्तरूपमा विहिबार आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई सम्मान प्रदान गरेको हो ।
उनले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुऱ्याएको योगादनस्वरूप श्रेष्ठलाई दुई लाख र सम्मानपत्र दिएकाे सङ्घले जनाएको छ । कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औं प्रधानन्यायाधीश बनेका थिए ।
सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठको विचार, अडान र फैसलाको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उनको नाम सिफारिस गरेको थियो ।सो अवसरमा प्रधानन्यायाधीश राउतले श्रेष्ठ नेपालको सिङ्गो न्यायिक इतिहासलाई प्रतिविम्बित गर्ने सामर्थ्य राख्ने व्यक्तित्वका रुपमा रहेको बताए । विधिको शासन, न्यायिक अक्षुण्यता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारका क्षेत्रमा श्रेष्ठले दिएको योगदान स्मरणीय छः उनले भने ।
पुरस्कृत व्यक्तित्व श्रेष्ठले राज्यका विभिन्न अङ्ग, निकाय र तहले जवाफदेही ढङ्गबाट सेवा प्रवाह गर्न नसक्दा मुलुकमा सुशासन कायम गर्न कठिन भइरहेको जनाउँदै त्यसतर्फ सरोकारवालाको ध्यान पुग्नुपर्ने बताए । पुरस्कार छनोट समितिका संयोजक मैनालीले संस्थागत नेतृत्व क्षमता, दृढता, बौद्धिकता र विवेकको उच्च मूल्याङ्कन गर्दै उनलाई पुरस्कारका लागि सिफारिसगरिएको बताए । कर्पोरेसनसका अध्यक्ष प्रदीपलाल श्रेष्ठले दैनिक उपभोग्य वस्तुको सहज र सरल आपूर्तिमा संस्थाले काम गर्दै आइरहेको जानकारी दिए ।
ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्व तहमा रही सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिएको योगदानको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो । सङ्घले सार्वजनिक प्रशासन, व्यवस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुन्याउने व्यक्ति वा संस्थालाई वर्षेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान् कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लालदास र डा भेषबहादुर थापा सम्मानित भइसकेका छन् ।