ककनी - ककनी गाउँपालिकाले तामाङ समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । तामाङ समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यका साथ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला लघु उद्यमी संघ नुवाकोटको आयोजनामा सञ्चालन गरिएको सात दिने तालिम आज सम्पन्न भएको हाे ।
तालिमको मार्फत तामाङ जातिको परम्परागत नृत्य, भेषभूषा, लोकगीत, वाद्यवादन, रितिरिवाज र संस्कारहरूबारे व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।आइतबार समापन समारोहमा नेपाल सरकारका पूर्व सचिव वेगेन्द्र शर्मा पौडेलले तामाङ समुदायको मौलिक संस्कृतिले नेपाली पहिचान समृद्ध बनाएको उल्लेख गर्दै यस्तो प्रकारका कार्यक्रमले स्थानीय स्तरमा संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण योगदान दिने बताए ।
कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले भने, "हाम्रो समुदायभित्र लुकेका अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रमहरू अत्यावश्यक छन्।" गाउँपालिकाले यस्ता पहललाई सधैं प्राथमिकतामा राख्ने उनले बताएका छन् । साथै तालिममा प्रयोग भएका सामाग्रीहरु डम्फु १५ थान, टुङ्ना १ थान, पोशाक महिला र पुरुष गरि १६ थान रिमठिम संघ ककनी का अध्यक्ष कमल तामाङ लाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिममा सिकेका तामाङ नाच–गान, पोशाक र सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए। सहभागीहरूले यस्तो कार्यक्रमले आफूहरूलाई आफ्नो समुदायप्रति अझ गौरव गर्न प्रेरणा दिएको बताएका छ्न् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिठ्ठुमाया लामाले “यस्ता तालिमले महिलाहरू र युवाहरूलाई सीपयुक्त बनाउनुका साथै आफ्नो पहिचानप्रति गर्व महसुस गराउने काम गर्ने बताउदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएकी छिन् । ७ दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष पासाङ मोक्तानले सहजिकरण गरेका थिए ।