काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएगलत्तै कार्यपालिका बैठक ‘लाइभ’ गर्ने प्रमुख बालेन्द्र (बालेन) शाहको निर्णयलाई सबैले प्रशंसा गरे । बजेट निर्माणका बेलाको एउटाबाहेक हालसम्मका सबै बैठक उनले लाइभ गरेका छन् ।
कार्यपालिकाकै पहिलो बैठकमा वडाध्यक्षहरूले नोकझोक गरेपछि प्रमुख बालेन्द्रको जति प्रशंसा भयो, त्योभन्दा धेरै केही वडाध्यक्षहरूको आलोचना भयो । कतिसम्म भने सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले ‘श्रद्धाञ्जली’ नै खेप्नुपर्यो ।
दिवंगत र्याप गायक यमबुद्धको सालिक बनाउन बजेट विनियोजन गरिएको विषयमा महानगर प्रमुख शाहको चौतर्फी आलोचना भइरहेको छ । केही गर्छु भनेर स्वतन्त्रबाट उम्मेदवारी दिई निर्वाचित भएका उनलाई यसअघिका ‘शासक’जस्तो बन्न खोजेको आरोप लगाइएको छ ।
राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले ‘जनताका पक्षमा काम नगरेको’ भन्दै यसपटक काठमाडौंका मतादाता स्वतन्त्र उम्मेदवार बालेन्द्रप्रति आकर्षित भए । दलीय व्यवस्थालाई झापड हान्दै स्वतन्त्र उम्मेदवार शाहलाई जिताइदिए । राजनीतिक दलहरूले अपेक्षा गरेकोभन्दा धेरै मत ल्याएर उनी निर्वाचित भए ।
निर्वाचित भएपछिका उनका केही ‘लोकप्रिय निर्णय’ले उनीप्रति आशा जगाउन थाले । उनकाविरुद्ध बोल्ने अवस्था थिएन । सामाजिक सञ्जालमा उनका विरुद्ध लेख्नेमाथि समर्थकहरूले गाली बर्साउँथे । भलै, उनको आलोचनाका मसिना स्वरहरू नसुनिएका होइनन् ।
काठमाडौंको फोहोर व्यवस्थापनलाई पहिलो एजेण्डा बनाएका बालेनले फोहोर व्यवस्थापन नहुञ्जेल माला र खादा नलगाउने घोषणा गरेका छन् । जसको प्रशंसा भइरहेको छ । तर, पछिल्ला समयका केही निर्णयले बालेन आलोचित बन्न थालेका छन् । उनी विवादको बाटोमा अघि बढ्न लागेका त होइनन् भन्ने प्रश्न उब्जिएका छन् ।
फोहोर व्यवस्थापनमा अवरोध गरेका सिसडोलवासीलाई ‘धम्क्याउने’देखि दिवंगत र्यापर यमबुद्ध (अनिल अधिकारी)को सालिक बनाउने विषयसम्म आइपुग्दा उनको आलोचना बढ्न थालेको छ । काठमाडौंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि सिसडोल पुगेका उनले आफू महिनाको तीन लाखको जागिर छोडेर आएको भन्दै ‘धम्क्याएका’ थिए । जुन भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
हालै सडकपेटीमा मकै पोलेर बेच्ने दुई दम्पतीमाथि नगर प्रहरीले गरेको ‘ज्यादती’को पनि चौतर्फी आलोचना भइरहेको छ । यो घटनालाई लिएर महानगर प्रमुख शाहको आलोचना भइरहेको छ । तर, महानगरले यसमा स्पष्टीकरण दिइसकेको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले सडकपेटी पैदलयात्रु हिँड्नका लागि बनाइएको बताउँदै सडकपेटीमा पसल राख्नेलाई उठाइएको र अटेर गर्नेको सामान जफत गरेको बताएका छन् ।
फुटपाथलाई व्यवस्थित गर्ने महानगरको कदम स्वागतयोग्य छ । तर, व्यवस्थित गर्ने नाममा सडक किनारमा व्यापार गरेर दैनिकी धान्नेहरुमाथि ज्यादती गर्नु न्यायसंगत नहुने भन्दै आलोचना भइरहेको छ । कतिपय ठूला व्यापारिक घराना, सटरमा व्यवसाय सञ्चालन गर्ने तथा सरकारी कार्यालयहरुले नै सडकपेटी मिचेका छन् । महानगरले ती सडकपेटीहरुलाई पहिले व्यवस्थित गर्न जरुरी रहेको सरोकारवालाको भनाइ छ ।
यमबुद्धको सालिक बनाउने निर्णय विवादमा
महानगर प्रमुख शाहले गरेको पछिल्लो विवादित निर्णय हो, दिवंगत र्यापर यमबुद्धको सालिक बनाउने । काठमाडौं महानगरपालिकाको ११औं नगरसभाको छैटौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सालिक निर्माणका लागि बजेट विनियोजन गरेपछि प्रमुख शाह आलोचित बनेका छन् । उनको चौतर्फी आलोचना भइरहेको छ ।
आर्थिक वर्ष २०७९/८० को लागि कूल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यमबुद्धको सालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्याएको छ । गत असार १० गते नगरसभामा पेस भएको उक्त बजेट तीन चरणको छलफलपश्चात शुक्रबार सर्वसम्मत पास भइसकेको छ ।
यमबुद्ध नेपाली ¥याप क्षेत्रका अग्रज कलाकारका रुपमा चिनिन्छन् । उनले सन् २०१७ मा लण्डनमा आत्महत्या गरेका थिए । महानगर प्रमुख बालेन यमबुद्धद्वारा सञ्चालित ¥याप गायनसम्बन्धी कार्यक्रम ‘र बाज’ र्याप ब्याटलमार्फत् नै ¥याप क्षेत्रमा परिचित भएका हुन् ।
यमबुद्धको परिवारसँग भेट
नगरसभाबाट यमबुद्धको सालिक बनाउने निर्णय पारित भएपछि प्रमुख शाहले शनिबार दिवंगत यमबुद्धका अभिभावकसँग भेट गरेका छन् । उनले भैँसेपाटीस्थित निवासमै पुगेर यमबुद्धका बुबाआमासँग भेट गरेका हुन् ।
काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेटबाट यमबुद्धको सालिक बनाउनका लागि १५ लाख रुपैंया बजेट छुट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । विरोधपछि शनिबार बालेन्द्रले यमबुद्धका अभिभावकसँग भेट गरेका हुन् ।
अनि ‘सन्किए’ बालेन
यमबुद्धको सालिक बनाउन बजेट विनियोजन गरिएको विषयमा महानगर प्रमुख शाहले चौतर्फी आलोचना बेहोर्नुपरेको छ । केही गर्छु भनेर स्वतन्त्रबाट उम्मेदवारी दिई निर्वाचित भएका प्रमुख शाह यसअघिका ‘शासक’जस्तो बन्न खोजेको भनेर आलोचना भइरहेको छ ।
उनी पनि पुरानै नेताहरूको बाटोमा हिँडेको भनेर खबरदारी सुरु भएको छ । कतिपयले बालेनलाई सहयोग गरेकोमा पछुतो लागेको टिप्पणी गरिरहेका छन् ।तर, आफ्नो निर्णयमाथि चर्को आलोचना सुरु भएपछि प्रमुख शाहले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका छन् ।
समाजिक सञ्जालमा अभिव्यक्त उनको टिप्पणीबाट उनी आक्रोशित भएको बुझ्न सकिन्छ । आलोचना खेप्न नसकेका प्रमुख बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरे पनि महानगरले भने औपचारिक रुपमा केही बोलेको छैन ।
‘म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस्,’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
तलबले कहिले बन्ला सालिक ?
बालेनले आफ्नो तलबबाट सालिक बनाउने घोषणा गरेपछि अब कति महिनाको तलबले सालिक बनाउन सकिन्छ भन्ने बहस सुरु भएको छ । नेपालको संविधानको धारा २२७ अनुसार स्थानीय तहका जनप्रतिनिधिको तलब र सेवा सुविधा तोक्ने जिम्मा सम्बन्धित प्रदेशहरुको मातहतमा हुने उल्लेख छ ।
बागमती प्रदेश सरकारले पनि ऐन नै बनाएर स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी पहिलो संशोधन जारी गरेको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी पहिलो संशोधन ऐन, २०७६ मा उल्लेख भएअनुसार महानगरका प्रमुखले मासिक ४७ हजार रुपैयाँ तलब पाउने छन् ।
यसका अलावा विदेश भ्रमणका क्रममा १२५ अमेरिकी डलर रकम पाउने पनि ऐनमा उल्लेख छ । त्यस्तै, मासिक १५० लिटर डिजेल/पेट्रोल र पाँच लिटर मोबिल उपलब्ध गराउने ऐनमा उल्लेख छ ।
प्रदेश ऐनमा व्यवस्था भएअनुसार महानगरपालिकाका प्रमुखको तलब ४७ हजार रुपैयाँ व्यवस्था छ । अहिले काठमाडौं महानगरपालिकाले सालिक निर्माणका लागि १५ लाख रकम विनियोजन गरेको छ । यो रकम पुग्न बालेनले तीन वर्षको तलब खर्च गर्नुपर्ने हुन्छ । जसअनुसार सो रकम तीन वर्षमा १६ लाख ९२ हजार रकम हुन आउँछ ।