लमजुङ- बेँसीशहर जाेड्ने चामे सडक पुनःसञ्चालनमा आएकाे छ । बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः सञ्चालन भएको हाे ।
बुधबार अविरल वर्षासँगै आएको बाढीपहिराले बिहानैबाट अवरुद्ध बनेको साे खण्डको पहिरो हटाएसँगै आज साँझ ७ बजेदेखि पुनः सञ्लालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताएका छन् ।
यस सडकखण्डको विभिन्न भागमा गएकोमध्ये हटाउन बाँकी मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौर जगतको पहिरो हटाउन सफल भएसँगै सवारी साधन सञ्चालनमा आएको छ ।
सडक माथिबाट ठूला ठूला ढुङ्गामाटासहितको पहिरो खस्दा दुई ठाउँमा अवरुद्ध हुनुका साथै सडक भत्किएको थियो । मस्र्याङ्दी गाउँपालिका–३ खुदी नजिकै ठूला ढुङ्गा माटासहितको पहिराले सडक अवरुद्ध बनाएको थियो ।
सो स्थानमा करिब ३५ मिटर सडक अवरुद्ध बनाए पनि सहज रुपमा पहिरो हटाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ १९:५७