
काठमाडौं– कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बंगलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । गार्मेन्ट उद्योग खोल्ने भन्दै बंगलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको छ । गार्मेन्ट उद्योगबाटै बंगलादेशको अर्थतन्त्र उकालो लागेको सकारात्मक अनुभवलाई नेपालसँग पनि साटासाटा गर्ने लक्ष्यका साथ बंगलादेशी कम्पनीले नेपालमा उद्योग स्थापना गर्न लागेको हो ।
उद्योग विभागका अनुसार बंगलादेशी कम्पनीले रु १५ करोड लगानीमा पहिलो चरणमा ३२ जनालाई रोजगारी दिने गरी उद्योग स्थापना गर्न लागेको हो । चालू आवको चार महिनाको अवधिमा कूल रु १३ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमध्ये उत्पादनमूलक उद्योगतर्फ बंगलादेशी कम्पनीले चासो देखाएको हो । शतप्रतिशत वैदेशिक लगानी रहने गरी स्थापना हुन लागेको उक्त उद्योगले तयारी पोशाक एक लाख ३५ हजार उत्पादन गर्ने क्षमता राख्छ । त्यसमा शर्ट ३५ हजार थान, टाउजर १० हजार थान, ट्रयाकसुट २० हजार थान, टिसर्ट २० हजार थान, ज्याकेट २० हजार थान, वेस्टकोट १० हजार थान, स्कर्ट पाँच हजार थान, जम्पसुट पाँच हजार थान र कुर्था १० हजार थान उत्पादन गर्ने लक्ष्य राखिएको छ । मध्यम खालको उद्योग स्थापना गर्ने गरी विभागमा आवेदन दिएको विभागको भनाइ छ ।
सन् २०१८ मा बङ्गलादेशले कूल ३२ दशमलव ९२ बिलियन बराबरको गार्मेन्ट निर्यात गरेको थियो । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको तीन महिनाको अवधिमा मात्रै बङ्गलादेशबाट कूल रु एक अर्ब ७० करोड ९४ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । नेपालबाट भने सो अवधिमा कूल रु ३९ करोड १३ लाख ८० हजार बराबरको सामान निर्यात भएको छ । नेपाल र बंगलादेशबीच रु एक अर्ब ३१ करोड ८१ लाख १७ हजार बराबरको व्यापार घाटा रहेको छ ।
नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाले पनि उत्पादनमूलक उद्योग स्थापना गरेर व्यापार घाटा घटाउन सकिने अवसर सिर्जना भएको छ । गार्मेन्ट उद्योगमा प्रख्याती कमाएको बंगलादेशको अनुभवबाट नेपालले पनि फाइदा लिने सक्ने देखिन्छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कूल १०३ वटा गार्मेन्ट उद्योगले आङ्खना उत्पादन निर्यात गर्दै आएको छ । सो केन्द्रका अनुसार चालू आवको तीन महिनामा तयारी पोशाकको निर्यातमा ५.९ प्रतिशतले ह्रास आएको छ ।