कास्की- पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको ‘डुलुवा’ समूह एक महिने भारत यात्रामा निस्केको छ ।यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो ।
पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरू प्रवद्र्धनका लागि भारतका विभिन्न सहरहरू हुँदै लदाखसम्मको यात्रामा निस्केका हुन् ।पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यका प्रवर्द्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मीर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुँदै बुटवलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिएका छन् ।
उनले यात्रा गर्दा फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने, एक र अर्को ठाउँ बारेमा जानकारी आदानप्रदान गर्न आफूहरू सफल हुने भन्दै घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको बताउँदै पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले नेपालका ७० जिल्लाको यात्रा यस अगाडी नै सकेको बताए ।
बिदाइ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सुरक्षालाई ध्यानमा राख्दै यात्रा गर्न शुभकामना दिएका छन् ।उनले भारतका लामो यात्रा गर्दा पोखरा र नेपालको ठुलो विज्ञापन हुने बताए । पोखरा साहसिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा साहसिक गतिविधिको प्रवर्द्धन गर्ने उनले बताए ।
भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले भ्रमणले भारत र नेपालको मैत्री सम्बन्धमा अझ राम्रो बताउने बताए । उनले भारतका प्रसिद्ध र परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्त्वका स्थानको छनोट गरेकोमा खुसी व्यक्त गरे ।नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको जनाएका छन् । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवर्द्धनात्मक सहयोग गरेको डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा नौ जना प्याराग्लाइडिङ पाइलट समेत रहेको समूहका सदस्य विकास भट्टराइले जानकारी दिएका हुन् ।
उनले सन् २००८ देखि ‘डुलुवा’ नाम जुराएर घुमघाम गर्दै आएको बताए । समूहले पर्यटन प्रवर्द्धनसँगै आवश्यकता हेरेर विद्याथीहरुलाई न्यानो कपडा, स्कुलका सामग्री र खेल सामग्री वितरण गर्दै आएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ १४:३१