
दार्चुला– अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दसै“मा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गरेका हुन् ।
उनले यसअघि सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए । गाउँपालिकाबाट पिठ्यूँमा बोकेर ल्याएको स्याउको बजारीकरण होस् भन्नका लागि कार्यक्रममा स्याउ वितरण गरेको उनले बताए । सडक अभाव र बजार नहुँदा अहिले पनि उनको स्याउ बारीमै कुहिने अवस्थामा छ ।
‘खण्डेश्वरीमा स्याउको बजार छैन, सानो बजार छ, स्याउ कृषक धेरै छन्, स्याउ ग्रेडिङ गर्ने, स्याउ स्टोर गर्ने उपकरण छैन,’ धामीले भने, ‘बारीमै कुहिन दिनुभन्दा आफन्तलाई स्याउ उपहारका रूपमा दिनु ठीक हुन्छ ।’ अपी हिमालको खण्डेश्वरीको पाथामा फलेको स्याउ बजार ल्याउनै समस्या छ । दुर्गम बस्तीमा यस्तो अर्गानिक स्याउ, प्रचारप्रसार र बजारीकरण आवश्यक रहेकामा कार्यक्रमका सहभागिले जोड दिए । अहिले पनि उनको मात्र नभई जिल्लाभरिका कृषकले उत्पादन गरेका स्याउले बजार पाएका छैनन् ।
खण्डेश्वरीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन र ग्रामीण जलस्रोत परियोजना जीविकोपार्जन कार्यक्रमअन्तर्गत उक्त गाउँपालिकाका वडा नं ३ र ४ मै हजारौ“ बोट स्याउ खेती गरिएको छ । स्याउको बजार नपाउँदा कृषकले स्याउ आफन्तलाई कोसेलीका रूपमा दिन थालेका छन् । पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्न थालेका यहा“का स्थानीय बजार अभावमा समस्या झेल्दै छन् ।
हिमाली क्षेत्रका स्थानीयको अधिंकाश बारीमा स्याउ लटरम्म फलेका छन् । बजार र सडकको पहु“चबाट टाढा भएकाले उनीहरूले बिक्री गरेर आर्थिक लाभ लिन भने सकेका छैनन् । ‘बजार र सडक नहुँदा आफन्तलाई स्याउ कोसेलीस्वरूप दिने गरेका छौँ,’ कृषक कपुर धामीले भने, ‘चाडपर्वका बेला नजिकका आफन्तलाई स्याउ दिनु परेको छ ।’ उनले आफ्नो बारीमा लगाएका डेढ सय बोटका स्याउ बिक्री नभएपछि कोसेलीका रूपमा दिँदै आएका छन् ।
एउटा बोटमा सरदर २० किलोभन्दा बढी नै फल दिएको छ । गाउँसम्म न सडक पहु“च छ, न त बजार नै । सोका कारण उत्पादित स्याउबाट आम्दानी हुन नसकेको उनले बताएका छन् । ‘जिल्लाको व्यास, अपी हिमाल, नौगाड, मार्मा, र दुहुँ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ, यीमध्ये अपी हिमाल र व्यासमा राम्रो स्याउ उत्पादन भएको छ, सडक पुगेको क्षेत्रमा स्याउ खासै फलेको छैन, थोरै सडक पहुँचनजिक पुगेका छौँ,’ मार्मा–५ का स्याउ कृषक इन्द्रसिंह महताले भने । रासस