प्रभाव संवाददाता
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको बताएका छन् ।
१८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको छ, उहाँहरूले संस्कृति बचाउन पुर्याएको योगदानको सम्मान गनुपर्छ ।”
निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हरेक समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जोगाउन लाग्नुपर्छ, हाम्रो पहिचान नै यही हो ।”
यहि आउँदो पुष ४ गतेका दिन बसन्तुपुरमा भव्यकासाथ मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरूप बाजागाजासहति माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंले परम्परागतरुमा निमन्त्रणा दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ ०२:४९