वीरगञ्ज - पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा वृद्धा महिलाको हत्या गरी घरमा चोरी–डकैती गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय रामु पासवान र सोही ठाउँका १८ वर्षीय घलथरिया भन्ने राज कपुर बैठा रहेका छन्।
प्रहरीका अनुसार घटना २०८३ असोज ५ गते बिहान करिब ३ बजे भएको हो। धोबिनी–५ निवासी श्रीनिवास साह तुराहाको दुई तल्ले पक्की घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका तीन जनाले घरमा तोडफोड गरिरहेको अवस्थामा घरकी करिब ६२ वर्षीया लखरजिया देवी माथिल्लो तलामा पुगेपछि उनीमाथि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाअघि तीनै जनाले राज कपुर बैठाको घरमा गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएका थिए। त्यसपछि राति करिब २:३० बजे घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलामा पुगेका उनीहरूले झ्यालबाट घरभित्र प्रवेश गरी स्टिलको दराज तोडेर नगद तथा गरगहना निकाल्नुका साथै अर्को कोठामा रहेको टिनको बक्साको ताल्चा फुटाउने क्रममा लखरजिया देवीले आवाज सुनेर माथिल्लो तलामा पुगेकी थिइन्।
त्यस क्रममा उनले तीनै जनालाई देखेपछि उनीहरूले लखरजिया देवीको हत्या गरी घरमा रहेका नगद तथा गरगहना लिएर फरार भएको प्रहरीको अनुसन्धान विवरणमा उल्लेख छ।
घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्का तयार गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।