धनुषा- अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका-११, आँपगाछीमा पहिरो खस्दा एक घर पुरिएको छ। घटनामा एक महिलाको मृत्यु भएको छ भने घरभित्र रहेका चार जनाको सकुशल उद्धार गरिएको छ। आइतबार बिहान करिब ९ः१० बजे स्थानीय राजन श्रेष्ठको एकतले घर पहिरोले पुरिएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले खोज तथा उद्धारका क्रममा घरभित्र रहेका चार जनालाई सकुशल बाहिर निकालेको थियो। सोही क्रममा राजन श्रेष्ठकी श्रीमती करिब ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार कार्यमा जेसीबीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको विवरण सार्वजनिक भएको छ। मृतकको शव आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि बर्दिबास अस्पताल, महोत्तरी पठाइएको जनाइएको छ।
लगातारको वर्षाका कारण धनुषासहित मधेश प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार, क्षतिको विवरण संकलन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। प्रहरीले पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।