रौतहट - लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै रौतहटका सुरक्षा अधिकारीसहितको टोलीले पुल, बाँध तथा सम्भावित जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
२०८३ असोज ११ गते बिहान करिब ११ः२० बजे रौतहटको राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिसहितको टोली पुगेको थियो। टोलीले लालबकैया खोलाको पुल, बाँध, खोलाको बहाव तथा आसपासका कटान र डुबान हुन सक्ने सम्भावित क्षेत्रको अवस्था अवलोकन गरेको हो।
निरीक्षण टोलीमा नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी तथा राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका उप–अनुसन्धान निर्देशक कुमार बुढाथोकी लगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता थियो।
स्थानीय जनप्रतिनिधिसहित करिब ५० देखि ५५ जनाको सहभागिता रहेको निरीक्षणका क्रममा लालबकैया खोलाको पुल तथा बाँधको अवस्था, पानीको बहाव र आसपासका बस्ती तथा कृषि क्षेत्रमा बाढीका कारण पर्न सक्ने प्रभावबारे स्थलगत जानकारी लिइएको थियो।
वर्षायाममा लालबकैया खोलामा पानीको सतह तथा बहाव बढ्दा आसपासका क्षेत्रमा नदी कटान, डुबान तथा भौतिक क्षतिको जोखिम रहने भएकाले सम्भावित जोखिम क्षेत्रको अवस्था बुझ्न सुरक्षा अधिकारीहरूले स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित सुरक्षा निकायबाट जोखिम क्षेत्रको अवस्थाबारे जानकारी लिँदै आवश्यक पूर्वतयारी, सुरक्षा व्यवस्थापन तथा सम्भावित क्षति न्यूनीकरणका विषयमा समेत ध्यान दिइएको थियो।
स्थलगत निरीक्षणका क्रममा इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी सहायक निरीक्षक खिमबहादुर बिडारीको कमान्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको थियो। निरीक्षण गरिएको स्थान इलाका प्रहरी कार्यालय राजपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्दछ। टोलीले करिब ११ः५० बजे निरीक्षण सम्पन्न गरी उक्त स्थानबाट फर्किएको जनाइएको छ।
बाढी, डुबान तथा नदी कटानको जोखिम रहेका क्षेत्रको अवस्थाबारे प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय कायम गर्दै समयमै पूर्वतयारी गर्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको बताइएको छ। यस्तो अनुगमनबाट जोखिम क्षेत्र पहिचान गरी सम्भावित विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।