नारायणगढ (चितवन)- नारायणी नदीमा आइतबार जलसतह ११.९४ मिटर पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २:१० बजे नारायणीको जलसतह ११.९४ मिटर पुगेको थियो। यहाँ ७.३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ। पछिल्लो मापनअनुसार दिउँसो ३:४० बजे नदीको जलसतह ११.७५ मिटरमा झरेको छ। नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो। पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए।
कार्यालयका अभिलेखअनुसार २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११.छ मिटर पुगेको थियो। २०८० साउन २९ गते ८.३३ मिटर, २०७९ असोज २० गते ९.५२ मिटर र २०७८ असार २ गते १०.५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ। उनका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो।