

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले राजनीतिक प्रतिशोधले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला ब्लकको कार्यक्रममा ठाडो हस्तक्षेप गरेको सञ्चालक समितिले आरोप लगाएका छन् । संघीय सरकारमार्फत कृषि ज्ञान केन्द्र खोटाङले उक्त गाउ“पालिकाको तीन वडामा लागू गरेको सुन्तला ब्लक कार्यक्रममा गाउ“पालिका प्रमुख राईले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गुण्डागर्दी शैलीमा हस्तक्षेप गरेको समितिले आरोप लगाएको हो ।
गाउँपालिका प्रमुख राईले योजना सञ्चालन भइरहेको अवस्थामा अन्योलता सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालक समितिमाथि आर्थिक अनियमितता गरेको भन्दै झुठो आरोप लगाएर प्रचारबाजी गर्ने घृणित काम गरेकोप्रति आफूहरूको घोर आपत्ति रहेको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परियोजना सञ्चालन सम्बन्धी निर्देशिका अनुसार काम गरिरहेको अवस्थामा गाउँपालिका प्रमुख राईले राजनीतिक प्रतिशोधले आफूहरूमाथि विभिन्न बहाना बनाएर आधारहीन आरोप लगाउँदै आफू अनुकूलको सञ्चारमाध्यमलाई प्रयोग गरेर झुठो समाचार प्रकाशन तथा प्रशारण गर्न लगाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला ब्लक कार्यक्रममा अहिलेसम्म कुनै पनि अनियमितता नभएको र १३ वटा कृषक समूहलाई आवश्यक सामग्री ढुवानी गरेर वितरण गरिएको समितिले शनिबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलन दाबी गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्ययोजनाअन्तर्गत नै सुन्तलाको बिरुवा, पाइप, पोखरी निर्माणका लागि प्लास्टिक, स्पे्रयर, हजारी, सिकेचर, प्रुनिङ्स, बोर्डो मिश्रण, होर्डिङबोर्ड, मललगायत सामग्री खरिद गरेर कृषक समूहमा आवद्ध किसानलाई वितरण गरिएको विज्ञप्तिमा भनिएको छ ।
‘गाउँपालिका प्रमुखकै पक्षमा लागेर सञ्चारमाध्यमले झुठो समाचार लेखेर आमसमुदायमा अफवाह फैलाउने काम गरेकोप्रति हाम्रो घोर आपत्ति छ,’ अध्यक्ष र सचिवको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘अर्थहीन र झुठो समाचार प्रकाशन तथा प्रशारण गर्ने मिडिया हाउसलाई यथोचित कानुनी दायरामा ल्याउन माग गर्दछौँ ।’
गाउ“पालिका प्रमुख जस्तो उच्च ओहदामा बसेको व्यक्तिले हुँदै नभएको कुरामा अफवाह फौलाउनु आफै“मा घृणित कार्य भएको भन्दै सञ्चालक समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफूहरूमाथि लगाइएको आर्थिक हिनामिनाको आरोप पुष्टि गर्नसमेत गाउँपालिका प्रमुख राईलाई यसै विज्ञप्तिमार्फत चेतावनी दिन्छौँ ।’
७ वटा वडा रहेको उक्त गाउँपालिकामा संघीय सरकारमार्फत कृषि ज्ञान केन्द्र खोटाङले आर्थिक वर्ष ०७६÷७७ मा सन्तला ब्लक कार्यक्रमअन्तर्गत रु. २८ लाख ८१ हजार रकम लगानी गरेको छ । ५० प्रतिशत जनश्रमबाट व्यहोर्ने गरी वडा नम्बर–१ याम्खा, वडा नम्बर–२ डा“डागाउ“ र वडा नम्बर–३ छोरम्बुमा रु ५६ लाख बराबरको योजना सञ्चालन भइरहेको कृषक समूहले
जनाएको छ ।