

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ ।
एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो ।
कोरोना परीक्षणका लागि पिसिआर गर्नुपर्ने माग सहित मजदुर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।
आयोजनाका एक मजदुरलाई कोरोना संक्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पिसिआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलित भएका छन् ।
‘विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ’, घिमिरेले भने, ‘काम नियमित गराउनका लागि पहल गरिरहेका छाँ ।’ शुक्रबार दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भने शनिबार पुनः छलफलको तयारी गरिएको छ ।
आयोजना प्रमुख घिमिरेका अनुसार शनिबार यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदुरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास गरिनेछ ।
‘नजिकको सम्पर्कमा रहेकाहरूको पिसीआर परीक्षण गर्न सकिने भएपनि सबै मजदुर र परिवारको पिसीआर परीक्षण सम्भव नरहेको स्वास्थ्य कार्यालयबाट जानकारी पाएका छौं’, उनले भने, ‘तैपनि के गर्न सकिन्छ छलफल गरेर विवाद टुङ्गाई काम सुचारु गर्न पहल गरिरहेका छौ ।’
आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो ।
सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि सुचारु रहेको घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ ।
उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।