[caption id="attachment_11109" align="alignnone" width="950"]
बर्लिन–जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनःमिलनको उत्सव मनाएको छ ।[/caption]
बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी भए ।
दोस्रो विश्वयुद्ध पश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए ।
‘हामी शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिन आज पुनःस्मरण गर्दैछौं,’ स्टेनमेयरले बताए ।
उनले अगाडि भने, ‘आज हामी एउटा सर्वोत्कृष्ट र एकीकृत जर्मनीमा बाँचिरहेका छौँ ।’
स्टेनमेयरले जर्मनी विगत ३० वर्षको अवधिमा पुनःमिलन र आप्रवासनका कारण धेरै विविधतापूर्ण भएको बताए । उनले क्षेत्र र धर्मका मतभिन्नतालाई परित्याग गरेर अझ सुदृढ एकताका लागि आह्वान गरे ।
कार्यक्रममा बोल्दै चान्सलर मर्केलले जर्मनीका प्रत्येक नागरिकले विशिष्ट साहस र उत्साहका साथ अघि बढ्नुपर्ने समय आएको बताए ।
उनले भने, ‘कोरोनाभाइरसको महामारी बेलामा नयाँ उत्साह चाहिएको छ, पूर्वपश्चिम जर्मनीबीचमा रहेका कतिपय मतभेदलाई तोड्नु पर्नेछ ।’
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले पुनःमिलनका अवसरमा ट्वीट गर्दै जर्मन जनतालाई बधाई दिएको छ ।
उनले भनेका छन्, ‘जर्मनी ३० वर्ष अघि पुनःमिलन भएको थियो जसले युरोपियन पुनःमिलनको बाटो खोलेको थियो । हामी प्रजातन्त्र र प्रगति, हाम्रो सार्वभौमिकता र युरोपियन ऐक्यवद्धतालाई थप अघि बढाउँदैछौँ ।’
अमेरिका र तत्कालीन सोभियत संघबीच दशकौं लामो शीतयुद्धको अवधिमा जर्मनी पूर्वी (जर्मनी) र पश्चिम (जर्मनी) का रुपमा विभाजित थियो ।
तर सन् १९८९ नोभेम्बर ९ मा जनताले बर्लिन पर्खाल ढालेसँगै दुई जर्मनीबीच पुनःमिलनको बाटो खुला भएको थियो । पछि सन् १९९० अक्टोबर ३ मा जर्मन पुनःमिलन सन्धिमा हस्ताक्षर भएको थियो ।
त्यसबेलादेखि, जर्मन एकता दिवसलाई देशको राष्ट्रिय विदाका रूपमा मनाइन्छ ।