
जेनेभा–संयुक्त राष्ट्रसंघको एक अनुमानअनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकबाट अबैधरुपमा ८३० अर्ब डलर बाहिरिएको छ ।
यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ ।
अबैधरुपमा यो रकम बाहिरनबाट रोक्न सकेको भए अफ्रिकी मुलुकमा स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ ।
सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन
(अन्कटाड) का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अबैध वित्तीय प्रवाहलाई विशेषरुपमा जोड दिइएको छ ।
प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ ।
अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन् ।
सन्
२०१३ देखि २०१५ को बीचमा औसतमा प्रतिवर्ष झण्डै
८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ ।
तुलनात्मकरुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृ निकायबाट वार्षिक करिब १०२ अर्ब डलर प्राप्त गरेको देखिन्छ ।
अन्कटाडका महासचिव मुखिसा किटुयीले भन्नुभयो, ‘गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाँक्षामाथि नै खेलवाड गरेको छ ।
पारदर्शिता र जवाफदेहीतालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोशामा तुषारापात भएको छ ।’
अन्कटाडले सन्
२००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अबैधरुपमा करिब
८३६ अर्ब डलर बाहिरिएको जनाएको छ ।
अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलर बराबरको रकम बाहिरिएको छ, र यो रकम विशेषगरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो ।
अबैधरुपमा रकम बाहिरिएका मुलुकमा मुख्य रुपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन् ।
अबैधरुपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याई छ ।
अन्तरराष्ट्रिय कर प्रणालीमा सुधार गर्न सके मात्र अफ्रिकाबाट अबैधरुपमा रकम विदेशिनेक्रम रोकिने पनि अन्कटाडले जनाएको छ ।