काठमाडौं- काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टि–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ। दोस्रो जित दर्ता गर्नेक्रममा जनकपुर बोल्ट्सले आइतबार सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हरायो।
पोखराले भने प्रतियोगितामा हारको शृंखला तोड्न सकेको छैन। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको थियो। आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो।
पोखराका लागि कुशल भूर्तेलले २४ बलमा पाँच चौकासहित सर्वाधिक ३५ रन बनाए। यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा पनि रन जोड्न सकेनन्।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि मोइन अलीले चार ओभरमा एक मेडनसहित १३ रन दिएर सर्वाधिक तीन विकेट लिए। यस्तै, हरमित सिंह र सैफ हसनले समान दुई–दुई तथा जिमी निशम र ललितनारायण राजवंशीले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो। जनकपुरका लागि प्रारम्भिक ब्याटर तृतराज दासले अर्धशतकीय इनिङ खेले। उनले ५५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रनको इनिङ खेलेका हुन्।
जारी एनपिएल करिअरमा तृतराजको यो पहिलो अर्धशतक हो। यस्तै, मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए। अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले। जिमी निशम ११ रनमा आउट भए।
बलिङतर्फ पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिए। यस्तै, चमिका करुणारत्नेले दुई, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान एक–एक विकेट हात पारे।
आइतबारको जितपछि जनकपुर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उसले तीन खेलबाट चार अंक जोडेको छ। अंकविहीन पोखरा भने तालिकाको पुछारमा रहेको छ।