काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गर्दै जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९.५ ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रनको योगदान दिए। उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै पवन शर्राफले ३६, अरिफुल इस्लमकले ३२, गुल्सन झाले २८ तथा दिपक डुम्रेले २० रन बनाए। बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रनको योगफल बनाएको थियो। विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गर्दै ८७ रनको योगदान गरेका हुन्।
यसैगरी आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार चौकाको सहायाताले ३१ रन बनाए। बासिर अहमदले सात बलमा १३ रन बनाए। शेहान जयसूर्याले ११ रनको योगदान दिए।
बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए।