काठमाडौं- जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। जनकपुर बोल्ट्सले आज भएको खेलमा काठमाण्डु गोर्खाजलाई आठ विकेटले हराएको हो।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो। काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
जनकपुरका लागि मोइन अलीले ५१ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ५८ रनको पारी खेले। यस्तै, सैफ हसनले अविजित ४० रन बनाए। बलिङतर्फ काठमाण्डुका लागि रिपोन मण्डलले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाण्डुले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो। काठमाण्डुका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे।
यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए। यस्तै, सैफ हसनले दुई तथा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए।
प्रतियोगिताअन्तर्गत आजै अर्को खेल विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच अपरान्ह ५ः०० बजेदेखि सुरु हुँदैछ। जारी प्रतियोगितामा विराटनगर पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजविरुद्ध आठ रनको हार व्यहारेको थियो।यस्तै कर्णाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो।