काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनायो ।
पोखराको लागि अर्जुन घर्तीले अविजिति सर्वाधिक ४० रन बनाए । उनले २५ ओभरमा चार चौका र एक छक्का हिर्काएका हुन् । उनी पहिलोपटक पोखराबाट खेलेका हुन् । दुईपटक कर्णालीबाट खेलेका अर्जुनलाई कर्णालीले रिटेन गरेको थिएन ।
ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए । ४ चौका र १ छक्का हिर्काएका हसनलाई दिनेश खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए ।
कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाए । बंगलादेशका चर्चित अलराउन्डर सकिव अल हसनले १६ बलमा १४ रनको योगदान गरे । ओपनर दिनेश खरेलले ४, श्रीलंकाका ब्याटर सदिरा समराविक्रमाले ८ र धनञ्जय लक्षनले ११ रनको योगदान गरेका थिए ।
बलिङतर्फ सुदूरका अनिल खरेलले सर्वाधिक ३ विकेट लिएका थिए । उनले ३ ओभरमा २३ रन खर्चिए । यसबाहेक हेमन्त धामी, स्कट कुगुलेइन र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।