काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्तर्गत आज साँझ भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितका लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे। मयन यादवले १४ तथा अनिल शाहले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए। त्यस्तै सोमपाल कामीले एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बलमा तीन छक्का प्रहार गरे। दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे।
जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए।