काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
पोखराले जितका लागि दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए। उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, इशान पाण्डेले ३१ बलमा दुई चौका र दुई छक्कासहित ३७ रनको योगदान दिए।
ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ तथा सर्फेन रदरफोर्ड आठ रनमा अविजित रहे।
पोखराका लागि धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक/एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो।
पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे।
त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए। शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए। सदीरा समरविक्रमा आठ रनमा आउट भए।
सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। उनले तीन ओभरमा २३ रन खर्चिए। त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक/एक विकेट हात पारे।