काठमाडौं- विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
पहिलो जित निकाल्ने क्रममा विराटनगरले शनिबार राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको हो।
सुदूरपश्चिमले दोस्रो हारको सामना गर्यो। आफ्नो तेस्रो खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पाँच ओभरमा झारिएको खेलमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो।
उसका लगि सेफ अली जेबले १० बलमा दुई छक्कासहित १७ रन बनाए। यस्तै, अविजित रहेका स्कट कुग्लाइनले २८ र आरिफ शेखले १७ रन जोडे।
विराटनगरका लागि बलिङतर्फ रुपेश सिंह, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा दुई विकेट गुमाएर १०५ बनायो।
उसका लागि शेहान जयसूर्याले ११ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ३९ रनको पारी खेले। यस्तै, आन्द्रे रसेलले अविजित २९ र लोकेश बमले २५ रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले एक विकेट लिए। आजै हुने भनिएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।