काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
७१औं प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे।
उनले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिए।
प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेको प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे। “हामी ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधि प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औं प्रहरी दिवस मनाइरहेका छौं। कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र संगठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ,” शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भनेका छन्।
पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताए।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवादसमेत व्यक्त गरे।
“नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ। राष्ट्रसेवकको असली परीक्षा संकटका बेला हुन्छ। संकटको घडीमा हाम्रो धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै संकट टार्न मद्धत गर्दछ,” प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा भनिएको छ।