काठमाडौं- नेपालीको महान् पर्व बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दसैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैं मनाउनका लागि घटस्थापनादेखि शुक्रबार बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए।
उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौंबाट बाहिरिएका छन्। काठमाडौंबाट दसैं मनाउनका लागि फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन्।
दसैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।
“दसैंको समयमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उनले भने। यही असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमा रोकिँदा समस्या भएको थियो।
यस्तै, हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दसैंका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।
महासंघले यात्रुलाई टिकट काटेरमात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ। दसैंले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ।