काठमाडौं- श्री डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
कम्पनीका अध्यक्ष ज्ञानेन्द्र खनालको सभापतित्वमा सोमबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनसहित प्रस्तुत सबै प्रस्ताव स्वीकृत गरेको छ। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अनुसूचीसहितको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो।
त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ। प्रबन्ध सञ्चालकको सेवाऔसुविधा अनुमोदन र सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भएका छन्।
खुद नाफा ८९ लाख रुपैयाँभन्दा बढी
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा श्री डिस्टिलरीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ९३७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ५८ हजार ७६१ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा ८९ लाख ५ हजार ४८० रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३०८ प्रतिशतले बढेर २ करोड ८१ लाख ४१ हजार १३ रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आम्दानी २७ प्रतिशतले वृद्धि भई ७२ करोड ८४ लाख ९३ हजार ९०८ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ५७ करोड २२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खुद आम्दानी ३२ प्रतिशतले बढेर ३१ करोड ५ लाख ६५ हजार ९९५ रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ११ प्रतिशतले वृद्धि भई ७६ करोड ५ लाख ८५ हजार ५७७ रुपैयाँ कायम भएको छ।
१३५ वितरकममार्फत देशभर बिक्री
श्री डिस्टिलरीले देशभर १३५ वितरकममार्फत आफ्ना उत्पादनको बिक्री–वितरण गर्दै आएको छ। कम्पनीको बिक्रीमा बागमती, मधेश र गण्डकी प्रदेशको उल्लेख्य योगदान रहेको वित्तीय विवरणमा उल्लेख छ।
बागमती प्रदेशमा ४४ वितरकममार्फत २२ करोड १४ लाख ८८ हजार ५३९ रुपैयाँ बराबरको बिक्री भएको छ। त्यस्तै, मधेश प्रदेशमा ३७ वितरकममार्फत २० करोड ५९ लाख २० हजार ८०६ रुपैयाँ र गण्डकी प्रदेशमा नौ वितरकममार्फत १८ करोड ८२ लाख ४२ हजार ५४ रुपैयाँ बराबरको बिक्री भएको छ।
यसैगरी, लुम्बिनी प्रदेशमा २४ वितरकममार्फत ७ करोड ४९ लाख ४४ हजार १०० रुपैयाँ, कोशी प्रदेशमा १३ वितरकममार्फत २ करोड ३७ लाख ५० हजार २३६ रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा आठ वितरकममार्फत १ करोड ४१ लाख ४८ हजार १७३ रुपैयाँ बराबरको बिक्री भएको कम्पनीले जनाएको छ।
आईपीओबाट पुँजी जुटाउने तयारी
साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भएसँगै कम्पनीलाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। यद्यपि, आईपीओ निष्कासनका लागि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्नेछ।
आईपीओमार्फत पुँजी जुटाउन सके कम्पनीलाई व्यवसाय विस्तार, उत्पादन क्षमता वृद्धि तथा दीर्घकालीन व्यावसायिक योजना कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले उत्पादन सुविधाको आधुनिकीकरण र स्वचालित बोटलिङ प्रविधिको प्रयोगमार्फत उत्पादन क्षमता विस्तार गर्ने योजना अघि सारेको छ। उपलब्ध विवरणअनुसार कम्पनीको उत्पादन प्रणालीबाट मासिक एक लाख केसभन्दा बढी उत्पादन गर्न सकिने क्षमता रहेको छ।
काठमाडौं महानगरपालिका-११, बबरमहलमा केन्द्रीय कार्यालय रहेको श्री डिस्टिलरीले नाफा तथा आम्दानीमा वृद्धि, देशव्यापी वितरण सञ्जालको विस्तार र आईपीओ निष्कासनको तयारीलाई अघि बढाएको छ। आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित भएसँगै कम्पनीको पुँजी बजार प्रवेश गर्ने योजनाले थप गति लिने अपेक्षा गरिएको छ।