काठमाडौं - गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाएको छ।
यस्तै, बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति गरेको छ । बाढीले केरौँजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ ।
चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि आज बिहान बुढीगण्डकी नदीमा बाढी आएको हो ।
थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीहरूमा ठूलो क्षति गरेको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।
हालसम्म कुनै मानवीय क्षति भने नभएको बताइएको छ । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।