काठमाडौं- सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाउन काम अघि बढाएको छ।
त्रिशूली नदीका कारण सडक भासिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ।
भासिएको सडक नजिक 'ब्याक कटिङ' गरेर ट्र्याक खोल्ने कार्यमा नौ वटा मेसिन र नौ वटा ट्रिपर परिचालन गरी तीव्र गतिमा काम भइरहेको पूर्वाधार सचिवालयको भनाइ छ।
स्थानीय तहसँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको र आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सचिवालयले जनाएको छ।