बनेपा (काभ्रेपलाञ्चोक)- शुक्रबार रातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।
उनका अनुसार मंगलटारबाट करिब तीन किलोमिटर भकुण्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो खसेको थियो।
डोजरको सहायताले सडकमा थुप्रिएको लेदो र गेग्रान हटाएपछि यातायात सञ्चालनमा आएको विष्टले बताए।
वर्षा जारी रहेमा सडकका अन्य स्थान पनि अवरोध हुनसक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई प्रहरीले आग्रह गरेको छ।