काठमाडौं - नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन तथा दर्ता गरिएको उम्मेदवारीमा आवश्यक संशोधन गर्न पाउने भएका छन्।
मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारका लागि आज बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता तथा सच्याउन सकिने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिन वा विवरण सच्याउन चाहने उम्मेदवारले समितिमा निवेदन दिनुपर्नेछ।
उम्मेदवारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले आज बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेदवारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ आफ्नो पक्षमा प्रचार तथा मत माग्न पाउनेछन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भने भोलि हुनेछ। निर्वाचन समितिका अनुसार भोलि बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।
सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। वर्तमान सभापति गगनकुमार थापासहित श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। उनले नियमित महाधिवेशनबाट पनि सभापतिको जिम्मेवारी निरन्तरता दिने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्।
वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ। त्यस्तै, उपसभापति महिला पदमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
उपसभापति खुलातर्फ ९ जनाले उम्मेदवारी दिएका छन्। समावेशी उपसभापति पदमा पाँच जनाको उम्मेदवारी परेको छ। महामन्त्री खुलातर्फ ८ जना र महामन्त्री महिलातर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि, १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको थियो। जारी महाधिवेशनका लागि तोकिएको कार्यतालिका अनुसार विभिन्न पदहरूमा दर्ता भएका उम्मेदवारीहरूको सूची सार्वजनिक गरिएको हो। जारी सूचना अनुसार, सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्गी गरी ३ जनाको उम्मेदवारी परेको छ।