भक्तपुर- भक्तपुरमा पहिलोपटक ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल 'म्युजिक जात्रा–ख्वपः' आयोजना हुने भएको छ।
बुधबार क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमार्फत मंसिर १२,२०८३ मा भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा कुमा सागर एण्ड द ख्वपः ब्याण्ड रहेका छन्। भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपालीमाझ चर्चित कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुरमै पहिलोपटक प्रस्तुति दिन लागेको हो। कुमा सागरसँगै कार्यक्रममा 'मुक्ति एण्ड रिभाइभल' तथा 'निभाः डंगोल एण्ड चबाही दबु'ले प्रस्तुति दिने छन्।
विशेषगरी कुमा सागर एण्ड द ख्वपः ब्याण्डको प्रस्तुति भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ। कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्तरुपमा आयोजना गर्न लागेको हो।
संगीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ सांगीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।
'म्युजिक जात्रा–ख्वपः'लाई मनोरञ्जनमामात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ। कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सिबिआरओ)लाई प्रदान गरिने छ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत प्रदान गरिने आयोजकले जनाएको छ।