काठमाडौं- हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ ।
नाटक मञ्चनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा यही असोज १६ गतेदेखि नियमित रूपमा उक्त नाटक प्रदर्शन गरिने जानकारी दिइएको छ । बुधबारबाहेक हरेक दिन साँझ ५ः३० बजे उक्त नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाका दिन दिउँसो १ः३० बजे पनि नाटक हेर्न सकिने आयोजकले जनाएको छ । नाटकका निर्माता सफलजङ्ग शाह रहनुभएको छ ।
यसअघि बुटवल, चितवन, हेटौँडा, काठमाडौँ र सुर्खेतलगायतका सहरमा १० पटक उक्त नाटक मञ्चन भइसकेको नाटक निर्देशक नकुल पौड्यालले जानकारी दिए।
उनका अनुसार समाज, शिक्षा र मनोविज्ञानको ऐनाका रूपमा रहेको उक्त नाटकले सामाजिक यथार्थ र मानवीय मनोविज्ञानलाई प्रभावशाली ढङ्गले चित्रण गरेको छ । उपन्यासमा आधारित त्यस नाटकले समाजका विविध पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । नाटकमा रूपा थापा मगर, पुष्पेन्द्र खड्का, गोपाल महतरा, भिरुन पौडेललगायत कलाकारको अभिनय रहनेछ ।