काठमाडौँ- संगीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार’ यस वर्ष मूर्धन्य संगीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ।
दार्जिलिङको मिरिकस्थित लभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो।
मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी. केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई सो पुरस्कारसहित सम्मान गरेको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा संगीतकार तथा गीतकार बास्कोटालाई सम्मान गरिएको थियो।
विज्ञप्तिमा भनिएको छ, “हाम्रा स्रस्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन, उहाँहरूको सिर्जनायात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला संस्कृतिप्रतिको सम्मान पनि हो। यस्ता कार्यक्रमहरु एवं मान सम्मानले नेपालीकला र संस्कृतिलाई आगामी पुस्तामाझ पनि सुपरिचित गराउँदै लैजाने छ।”
सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक सांगीतिक यात्रा सुरु गर्नुभएका बास्कोटाले नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्।
उनले ३६४ भन्दा बढी नेपाली चलचित्रमा संगीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका छन्।