काठमाडौं– इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपांगता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ।
यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ।
यो योजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपांग महासंघ नेपाल, विकास साझेदार संस्था, अपांगता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो।
‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपांगता भएका व्यक्तिहरूले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्ने छन्। यस सुविधाअन्तर्गत १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ। कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत र सेवा शुल्क ०.७५ प्रतिशत रहेको छ।
योग्य प्रयोगकर्ताले इसेवा एपको गृह पृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्ने जनाइएको छ।
कर्जाका लागि प्रयोगकर्ताको इसेवा खाता केवाइसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपांगता परिचयपत्र भएको, कम्तीमा छ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्ने छ। कर्जा स्वीकृति सम्बन्धित मूल्यांकन तथा लागू हुने नियम बंैकको सर्तअनुसार हुने छ।
कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘स्वावलम्बन कर्जा’ मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपांगता भएका व्यक्तिहरूका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको बताए।
‘यसले उनीहरूलाई वित्तीय सेवामा थप सहजरूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास लिएका छौं। स्वावलम्बन कर्जा एउटा उत्पादनमात्र नभएर एउटा अवधारणाको सुरुवात हो। कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन,’ प्रमुख कार्यकारी अधिकृत खड्काले भने।
त्यस्तै, सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपांगता भएका व्यक्तिहरूको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘अपांगता भएका व्यक्तिहरूलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं। स्वावलम्बन कर्जाले उहाँहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरेका छौं।’
कार्यक्रममा संस्थाका नेतृत्वको मन्तव्यसँगै ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव तथा यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।