काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सिण्डिकेटको विषयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को ध्यानाकर्षण गराएको छ।
मंगलबार संघका अध्यक्ष डिकबहादुर खत्री तथा पदाधिकारीको टोलीले आइओएम नेपालका कन्ट्री डाइरेक्टरसँग भेटघाट गरी सीमित व्यवसायीलाई मात्र श्रमिक पठाउन पाउनेगरी ल्याउन लागिएको व्यवस्थाको विषयमा छलफल गर्दै ध्यानाकर्षण गराएको संघले जानकारी दिएको छ।
छलफलमा नेपालीहरुको वैदेशिक रोजगार गन्तव्य मलेसियाको एफडब्ल्युसिएमएस प्रणालीमा नेपालका २५ वटा म्यानपावरलाई मुख्य संस्था तथा २५० वटालाई सहायक संस्थाका रूपमा सूचीकरण गरिएको विषयमा विस्तृतमा छलफल गरिएको जनाइएको छ।
भेटमा एफडब्ल्युसिएमएसबाट एकाधिकार कायम हुन सक्ने भएकाले त्यस्तो अवस्था रोक्न पहल गरिदिन माग गरेको र आइओएमकातर्फबाट सकारात्मक प्रतिक्रिया आएको संघका महासचिव हिराबहादुर डाँगीले बताए।
‘डाइरेक्टरज्यूले आइओएमको कार्यालय मलेसियामा पनि भएकाले यस्तो एकाधिकारको विषयमा मलेसियामा पनि कुरा उठाउँछौं। एकाधिकारको कुरामा कहीँ पनि सहमति गर्दैनौं। यसले अस्वस्थ प्रतिस्पर्धा हुन्छ। दुई देशको प्रधानमन्त्रीले पनि उक्त विषयमा कुराकानी गरिसकेकाले हामीले गर्ने सहयोग गर्न तयार छौं भन्नुभएको छ,’ डाँगीले भने।
संघले हाल ल्याउन खोजिएको व्यवस्थाले नेपाली श्रमिकमाथि आर्थिक भार थप्ने, व्यवसायीको समान अवसर गुम्ने भएकाले सबै व्यवसायीले स्वस्थ प्रतिस्पर्धामार्फत समानरुपमा व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको जनाइएको छ।