काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मागपत्र प्रमाणीकरणमा भएको ढिलासुस्तीका विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष डिकबहादुर खत्री तथा पदाधिकारीको टोलीले दुबईस्थित नेपाली कन्सुलेट कार्यालयबाट हुने मागपत्र प्रमाणीकरणमा तत्काल सहजीकरण गरिदिन मंगलबार श्रमसचिव दिपक काफ्लेको गम्भीर ध्यानाकर्षण गराएको हो।
दुबईस्थित नेपाली कन्सुलेट कार्यालयमा रीतपूर्वक पेस भएका तथा निर्धारित चेकलिस्टबमोजिम कागजात पूरा गरी पेस गरिएका मागपत्र प्रमाणीकरणमासमेत अनावश्यक ढिलाइ हुने गरेको संघले जनाएको छ। विश्वसनीय कम्पनीबाट प्राप्त मागपत्र प्रमाणीकरण हुन नसक्दा नेपाली श्रमिकको रोजगारीको अवसर प्रभावित हुनुका साथै व्यवसायी र रोजगारदाता कम्पनीसमेत प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ।
प्रमाणीकरणमा समय लाग्दा रोजगारदाता कम्पनीहरुले अन्य स्रोत मुलुकबाट श्रमिक खोज्ने हुँदा नेपाली श्रमिकको रोजगारीमा असर पर्ने संघले जनाएको छ। यो समस्यालाई संवेदनशील रुपमा लिएर समाधानका लागि तत्काल पहल गरिदिन सचिव काफ्लेसमक्ष माग गरेको छ।