काठमाडौं- मलेसिया रोजगारीमा सिण्डिकेट भित्र्याउन सक्रिय रहेको आरोप लागेका २५ जना व्यवसायीको तस्बिरमा कालो मसी खन्याइएको छ।
महिला व्यवसायीहरुले बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय सिफलमा जम्मा भएर ती व्यवसायीहरुको फोटोसहितको ब्यानरमा कालो मसी खन्याएका हुन्। सो क्रममा उनीहरुले आरोपित व्यवसायीहरुको तस्बिरमा जुत्तासमेत हानेका थिए।
विरोध प्रदर्शनमा सहभागी महिला व्यवसायीहरुले 'सिण्डिकेटधारी मुर्दावाद्' भन्दै नाराबाजीसमेत गरे। २५ व्यवसायीको तस्बिरसहितको ब्यानरमा ‘सिण्डिकेटधारीहरुको मुखमा किरा परोस्, सास जाने बेलामा सहयोगी नपाई मरोस्’ जस्ता आक्रोशपूर्ण नारासमेत लेखिएको छ ।
नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी उपाध्यक्ष तारा रेग्मीले
सिण्डिकेटधारी व्यवसायीहरुलाई सामाजिक बहिष्कार गरिएको बताइन्। उनले अब ती व्यवसायीहरु यही व्यवसायमा फर्कन नसक्ने अवस्था बनेकोसमेत दाबी गरिन्।
सिण्डिकेट भित्र्याउन सक्रिय २५ व्यवसायीअन्तर्गत थप २५० व्यवसायी सहायक संस्थाका रुपमा सूचीकृत भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र संघमा आबद्ध व्यवसायीहरु चर्को विरोधमा उत्रिएका छन् ।
हेर्नुहोस् भिडियो: