काठमाडौं- सौर्य कृषि कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा कम्पनीकी अध्यक्ष सुमित्रा देवी न्यौपानेको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नुका साथै विभिन्न विशेष प्रस्तावसमेत अनुमोदन गरेको छ। सभामा प्रस्तुत विवरणअनुसार कम्पनीले स्थापना हुँदा १० करोड रुपैयाँ अधिकृत पूँजी र ५ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार सुरु गरेको थियो। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कम्पनीको अधिकृत तथा जारी पूँजी १ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा चुक्ता पूँजीसमेत ८० करोड रुपैयाँले वृद्धि भएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो पहिलो परियोजनाका रूपमा मकवानपुरको हेटौंडामा १-१२-० बिघा क्षेत्रफलमा सौर्य पिलेट दाना कारखाना सञ्चालनमा ल्याएको छ। उक्त परियोजनामा ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरिएको कम्पनीले जनाएको छ। कारखानाबाट कुखुरा, गाई, भैंसी, माछा तथा बङ्गुरलगायत पशुपक्षीका लागि दाना उत्पादन हुँदै आएको छ।
यसैगरी कम्पनीले मकै, भटमास, तोरी र धानलगायत कृषि उपजको उत्पादन तथा बिक्री-वितरणसमेत सुरु गरेको जनाएको छ। खाने तेल उत्पादन तथा तयारी माछामासु बजारमा ल्याउने काम पनि अघि बढाइएको कम्पनीको भनाइ छ। हाल कम्पनीअन्तर्गत मकवानपुरमा सौर्य दाना उद्योग र सौर्य सोल्भेन्ट कारखाना, झापामा उन्नत एग्रोटेक प्रालि, सुनसरीमा बी एन्ड बी ब्रीडिङ प्रालि, मकवानपुरमा मृगस्थली कृषि फार्म प्रालि, सर्लाहीमा स्काई नेपाल ट्रेड प्रालि तथा नवलपुरमा घामखेती गुरु कम्पनीलगायत परियोजना सञ्चालनमा रहेको सभामा जानकारी दिइएको थियो।
कम्पनीले आगामी योजनाअन्तर्गत ब्रोइलर कुखुराको नयाँ प्रजाति भित्र्याउने, करार विधिबाट कुखुरापालन गर्ने तथा भटमास र मकै उत्पादन गर्ने योजना अघि सारेको छ। त्यस्तै, भैंसीका पाडापाडी पालन तथा दुग्ध व्यवसाय सञ्चालन, पशुपक्षीका औषधि बिक्रीको एजेन्सी व्यवसाय र खाद्यान्न उद्योग स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ। साधारण सभामा सेयर सदस्यहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ अध्यक्ष न्यौपानेसहित कम्पनीका पदाधिकारीहरूले दिएका थिए। कम्पनीमा हाल १ हजार १६९ जना सेयर सदस्य रहेको जनाइएको छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीमसिंह बमले कम्पनीका गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन गर्दै विभिन्न परियोजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा वक्ताहरूले कम्पनीको गुरुयोजना ऊर्जा विज्ञ गुरु न्यौपानेको अवधारणामा आधारित रहेको उल्लेख गर्दै उनको योगदानप्रति सम्मान व्यक्त गरेका थिए। विभिन्न कार्यक्रमसहित कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो।