काठमाडौं- सहलह बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गल्कोपाखा काठमाडौँको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार संस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्व तथा थकाली सानु महर्जनको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी बजेट पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, लाभांश वितरणलगायतका प्रस्तावसमेत सभाबाट पारित भएका छन्।
सभामा प्रस्तुत आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड ७६ लाख ५४ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, ऋण तथा सापटी १२ करोड २१ लाख ९५ हजार ४९९ रुपैयाँ र बचत तथा निक्षेप दायित्व १३ करोड ७२ लाख ३७ हजार ९६४ रुपैयाँ रहेको छ।
संस्थाको जगेडा कोषमा १ करोड १० लाख ७१ हजार ५१ रुपैयाँ रहेको छ भने विभिन्न कारोबारमार्फत असार मसान्तसम्म कुल १६ करोड ८५ लाख ९ हजार ८७८ रुपैयाँको कारोबार भएको प्रतिवेदनमा उल्लेख छ।
साधारण सभामा सहकारीकर्मी, अभियन्ता, अर्थविद्, शिक्षाविद्, समाजसेवी, संस्थाका सदस्य तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो। विभिन्न कार्यक्रमसहित संस्थाको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।