काठमाडौं- यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड नेपाली बजारमा सार्वजनिक गरेको छ। एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले शुक्रबार काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो।
कलात्मक वातावरणमा आयोजित कार्यक्रममा फरक-फरक व्यक्तित्व र शैली झल्किने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटर प्रदर्शनीमा राखिएका थिए। प्रत्येक स्कुटरलाई छुट्टै पहिचान र व्यक्तित्व झल्किने गरी सजाइएको थियो। कार्यक्रममा सहभागीहरूले स्कुटरको डिजाइन, विशेषता र प्रविधिबारे जानकारी लिनुका साथै स्कुटरमा बसेर अनुभवसमेत लिएका थिए।

कार्यक्रममा काठमाडौँमा सक्रिय डिजिटल कन्टेन्ट क्रिएटरहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले स्कुटरको डिजाइन, शैली, व्यक्तित्व र व्यक्तिगत अभिव्यक्तिबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। फ्यासिनो १२५ एफआई हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिन र यामाहाको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधि समावेश गरिएको छ। उक्त प्रविधिले इन्जिनलाई आवाजरहित रूपमा स्टार्ट गर्न सहयोग गर्नुका साथै स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा अतिरिक्त शक्ति प्रदान गर्छ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन मद्दत गर्ने कम्पनीको दाबी छ।

केवल ९८ किलोग्राम तौल रहेको स्कुटरमा आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचजस्ता सुविधाहरू उपलब्ध छन्। हलुका बनावट र आधुनिक प्रविधिका कारण स्कुटर दैनिक आवागमनका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। स्कुटर सार्वजनिक कार्यक्रममा एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले फ्यासिनो हाइब्रिड आफ्नै पहिचान र मौलिक शैली प्रस्तुत गर्न चाहने चालकलाई लक्षित गरी बजारमा ल्याइएको बताए।
उनले प्रत्येक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुने उल्लेख गर्दै यामाहा फ्यासिनो हाइब्रिडलाई सवारी साधनका रूपमा मात्र नभई व्यक्तित्व अभिव्यक्त गर्ने माध्यमका रूपमा समेत प्रस्तुत गर्न खोजिएको बताए। कम्पनीका अनुसार आकर्षक डिजाइन र आधुनिक हाइब्रिड प्रविधिको संयोजन रहेको फ्यासिनो १२५ एफआई हाइब्रिडले चालकको व्यक्तिगत शैली र पहिचानलाई प्राथमिकता दिएको छ।
फ्यासिनो १२५ एफआई हाइब्रिड नेपालभरका यामाहा शोरुम तथा आधिकारिक डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको ड्रम भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, डिस्क भेरियन्टको ३ लाख २९ हजार ९०० रुपैयाँ र एस भेरियन्टको ३ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।